तनहुँमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा

काठमाडौं, भदौ २८
मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ।
होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रूपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए।
दमौलीलाई पर्यटकीय नगरीका रूपमा विकास भइरहेको पछिल्लो समय व्यास–देवघाट करिडोर निर्माणदेखि १०८ वटा मूर्ति निर्माण पनि भइरहेका छन्।
‘लगानीकर्तालाई दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानीका लागि आग्रह गर्दछु,’ उनले भने।
दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न होटल निर्माण भएको उल्लेख गर्दै विगतमा कुनै पनि कार्यक्रम गर्नका लागि बन्दिपुर, पोखरालगायतका स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए।
एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्राण्डअन्तर्गतको होटल सञ्चालनमा ल्याइएको हो।
उनले दमौली भइ पोखरा, काठमाडौँ र चितवन जस्ता पर्यटकीय गन्तव्यमा पुग्ने यात्रु तथा स्थानीय स्तरमा आयोजना हुने सभा, सम्मेलनका साथै बिबाह, व्रतबन्धलगायतका अवसरमा पार्टी आयोजनाका लागि पनि सहज भएको बताए।
होटलमा डिलक्स र जुनियर स्वीट गरी ३४ वटा कोठा छन्।
साथै करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन्। होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफेको पनि सुविधा छ।
पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौँबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ।
पर्याप्त सवारी साधन अट्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको जनाएको छ।